घर बनाउँदा पालन गर्नुपर्ने नगरपालिकाका ५ नियम
  • 474

घर बनाउँदा पालन गर्नुपर्ने नगरपालिकाका ५ नियम

घर बनाउँदा खेरि नेपालमा भएका सबै महानगरपालिका र नगरपालिकाहरुले आआफ्ना मापदण्ड अनुसार त नक्सा पास गरेका हुन्छन् तर ती सबै मापदण्डहरु गणितीय रुपमा फरक भए पनि प्राविधिक रुपमा एकै हुन्छन् ।

प्राविधिक कुरा तपाईँको इन्जिनियरले त हेरिहाल्छन् । तर तपाईँले आफ्नै जग्गा किन्दा खेरि वा धेरै वटा जग्गा छन् भने घरका लागि जग्गा छनोट गर्दा तलका ५ कुराहरुमा ध्यान पुर्याउनुपर्छ ।

ग्राउण्ड कभरेज (Ground Coverage)

तपाईँले आफ्नो जग्गामा आवासीय वा व्यापारिक कम्प्लेक्स बनाउँदा सबै जग्गा प्रयोग गर्न पाउनुहुन्न किनभने नगरपालिकाले तपाईँलाई ग्राउण्ड कभरेज तोकिदिएको हुन्छ । यसो गर्नुको कारण चाहिँ नगर क्षेत्रमा प्रशस्त खाली स्पेश होस् र रुखविरुवा हरियालीको लागि पनि आवश्यक ठाउँ बाँकी होस् भन्ने नै हो।

ग्राउण्ड कभरेज नगरपालिका अनुसार र जग्गाको क्षेत्रफल र निर्माणको प्रयोजन अनुसार पनि फरक हुन्छ । उदाहरणको लागि काठमाण्डौँको न्यूरोड लगायतको पुरानो बस्तीमा पुरानो घर भत्काएर नयाँ बनाउने केशमा १०० प्रतिशत नै जग्गा पनि कभर गर्न पाउने गरी मापदण्ड निर्माण गरिएको छ । तर पुरानो बस्तीमै पनि खाली जग्गामा नयाँ घर बनाउन परेको खण्डमा चाहिँ जम्मा ८० प्रतिशत जग्गा कभर गरेर घर बनाउनु पर्ने हुन्छ ।

जग्गाको क्षेत्रफल अनुसार ग्राउण्ड कभरेज फरक पर्छ । उदाहरणको लागि काठमाण्डौँ महानगरपालिकामा आठ आना सम्मको जग्गाको लागि तपाईँले ७० प्रतिशत मात्र जग्गामा घर बनाउन पाउनुहुन्छ । त्यस्तै आठ आना देखि १ रोपनीसम्मको जमिनका लागि ६० प्रतिशत जग्गामा मात्र घर बनाउन पाइन्छ ।

कुन नगरपालिकामा कति क्षेत्रफल कभर गर्न पाइन्छ भन्ने कुरा तपाईँले जग्गा किन्दा थाहा पाउनुभयो भने आफूलाई मन परेको डिजाइन बनाउन कति क्षेत्रफल लाग्छ भन्ने कुरा तपाईँलाई पहिले नै थाहा हुन्छ ।

फ्लोर एरिया रेसियो (Floor Area Ratio)

फ्लोर एरिया रेसियो भनेको एउटा टेक्निकल टर्म हो जुन तपाईँको इन्जिनियरले राम्रो जानकारी राख्नुहुनेछ । सरल भाषामा बुझाउनु पर्दा फ्लोर एरिया रेसियो भनेको तपाईँको घरको कुल फ्लोर एरियालाई जग्गाको एरियाले भाग गर्दा आउने भागफल हो ।

तपाईँ यदि घर निर्माण गर्नको लागि जग्गाको छनोट गर्दै हुनुहुन्छ भने तपाईँले फ्लोर एरिया रेसियो बढी भएको ठाउँमा मात्र आफ्नो जग्गा किन्दा फाइदा हुनेछ किनभने तपाईँले सानो क्षेत्रफलमा पनि ठूलो घर बनाउन सक्नुहुनेछ । आजभोलि अधिकांश नगरपालिकाले फ्लोर एरिया रेसियो 1.75 राखेका छन् । काठमाण्डौँ महानगरपालिकामा आजभोली फ्लोर एरिया रेसियो ४ को रहेको छ । त्यस्तै काठमाण्डौँ महानगर वरपरका नगरपालिका जस्तै बुढानिलकण्ठ नगरपालिकाले यो रेसियो ३ तोकेको छ । चन्द्रागिरी नगरपालिकाले फ्लोर एरिया रेसियोको भ्यालु १.७५ नै तोकेको छ । अन्य नगरपालिका तथा महानगरपालिकाहरुले भ्यालु तपाईँले नगरपालिकामा गएर बुझ्न सक्नुहुन्छ ।

घरको हाइट

तपाईँको नगरपालिका वा महानगरपालिकाले तपाईँलाई बिल्डिङको हाइट तोकिदिएको हुन्छ । घरको हाइट तोक्नुको मतलब भूकम्पको समयमा घर ढलेर बाटोसम्म नआवोस् भन्ने नै हो । यसमा सहरी सौन्दर्यका बाटोको चौडाइ अनुसारका घर लाइट प्लेन आदि विभिन्न कन्सेप्टहरु पर्छन् । हाल अधिकांश नगरपालिकाहरुले घरको हाइटलाई जमिनको सतहबाट १७ मिटर तोकेका छन् । तपाईँले फ्लोर एरिया रेसियो अनुसार ठूलो घर बनाउन पाउने स्थितिमा पनि फ्लोर हाइट अनुसार १७ मिटरभन्दा बढी हुनेगरी तला थप्ने स्थिति हुँदैन ।

राइट अफ वे

तपाईँले घर बनाउनका लागि जग्गा किन्दा ख्याल गर्नुपर्ने अनिवार्य कुरा भनेको राइट अफ वे नै हो । तपाईँलाई जग्गा देखाउँदा जग्गामा पुग्ने बाटो १० फिटको हुन सक्छ । यस्तो स्थितिमा तपाईँको बाटो १३ फिट कम्तीमा हुनै पर्छ । अब १३ फिट पुर्याउनको लागि तपाईँले डेढ फुट जग्गा छाड्नैपर्छ । यदि तपाईँको जग्गामा जाने बाटो टुङ्गिएको छैन भने तपाईँको बाटो २० फिट कायम गर्नुपर्छ । यस्तोमा २० फिट कायम गर्नको लागि तपाईँले घर बनाउने क्रममा ५ फिट छाड्नुपर्ने हुन्छ ।

झ्याल ढोकाका लागि सेटब्याक

सेटब्याक भनेको तपाईँकै जग्गा भित्रको क्षेत्र र तपाईँकै स्वामित्वमा सदा कालको लागि रहिरहने जग्गा हो । तर झ्याल राख्नको लागि चाहिँ सेटब्याक छोड्नु नै पर्छ । नेपालभरि नै सेटब्याक भनेको ५ फिट कम्तीमा छोड्नुपर्ने नियम छ तर व्यापारिक भवनहरुको लागि भने धेरै तल्ला उठाउने भएमा धेरै फिट सेटब्याक छोड्नुपर्ने नियम छ । काठमाण्डौँ महानगरमा १७ फिटभन्दा अग्ला घर बनाउनुपर्ने भएमा १५ फिट जग्गा अनिवार्य छोड्नुपर्ने नियम छ ।

ढल बिजुली र खानेपानीको लाइनको लागि जग्गा

तपाईँको जग्गाबाटै ढल बिजुली र खानेपानी सरकारले लानुपर्छ भन्ने नियम त हुँदैन । तर यदि सरकारले चाहेमा वा लानु नै पर्ने भएमा तपाईँले आफ्नै जग्गाबाट ढल पानी र बिजुलीको लाइन म दिन्नँ भन्न पाउनुहुन्न । यदि तपाईँको जग्गामा पहिले देखि नै बिजुली खानेपानी र ढलको लाइन थियो भने तपाईँले त्यसलाई छलेरै घर बनाउनु पर्ने हुन्छ वा नगरपालिकामा निवेदन दिएर मिल्ने सम्मको स्थितिमा ठाउँ सारी गराउन पनि सक्नुहुन्छ । 

clock-icon 1 week ago
Contact Us