घर कस्तो बनाउने ghar kasto banaune types of home in nepal
  • 79

घर कस्तो बनाउने


घर के ले बनाउने र घर कत्रो बनाउने भन्ने मुख्य प्रश्नहरु पछि आउने अर्को कुरा भनेको घर कस्तो बनाउने भन्ने नै हो । घर कस्तो बनाउने भन्ने कुरा हामी सबैको आआफ्नो छनोट हो । हाम्रो छनोट चाहिँ विभिन्न कुराहरुबाट प्रभावित भइरहेको हुन्छ ।

जस्तै अमेरिका गएका र बसोबास गरेका साथीहरुको छनोट कोरिया वा जापान गएका साथीहरुको छनोटसङ्ग फरक परेको हुन्छ किनभने उनीहरुले देखाइ र भोगाइ र जीवनशैलीमा केही फरक हुन्छ । त्यस्तै घर कस्तो बनाउने भन्ने छनोट आफ्नो निजी आम्दानीमा पनि भर पर्छ । महिनामा लाख कमाउने व्यक्तिले बनाउन चाहने घर भन्दा महिनाको करोडमा कमाउने व्यक्तिको भन्दा निकै नै भव्य हुन्छ । कोही व्यक्ति युरोप अमेरिकमा देखेझैँ आधुनिक घर तथा बङ्गलामा रमाउँछन् भने कोही व्यक्ति विदेशमै बसेको भए पनि परम्परागत नेपाली घरको भव्यतामै रमाउँछन् ।

घर निर्माण प्रविधिको विचार गर्दा दुई किसिमका घरहरु हुन्छन्, आरसिसी ढलान प्रविधि र गारोले लोड थाम्ने प्रविधि । आजभोली शहरी र ग्रामीण क्षेत्रमा पनि आरसीसी प्रविधिकै घर धेरै प्रचलित छ ।

आरसीसी घर

आरसीसी घरमा लोड थाम्ने भनेको बिम र पिलरले हो । स्ल्याबमा आएको लोड बिममा बाँडिन्छ र बिमको लोड पिलरमा र पिलरको लोड फाउण्डेशनमा र फाउण्डेशनको लोड माटोमा जान्छ । आरसीसी घर सिमेन्ट वा स्टीलले बन्छ । सिमेन्ट र स्टीलमा धेरै अध्ययन अनुसन्धान भएका छन् र इन्जिनियरहरु पनि भूकम्प प्रतिरोधी घर बनाउन तालिम प्राप्त छन् ।

आरसीसी प्रविधिका घर अन्तरगत विभिन्न प्रकारका घरहरु प्रचलनमा छन् ।

बक्स स्टाइलका घर

बक्स स्टाइलका घर नेपालमा धेरै प्रचलनमा छन् । बक्स डिजाइनका घरहरुको विशेषता भनेको यसको लुक्स बक्सहरु वा क्युबहरुलाई ल्याएर खापेजस्तो देखिन्छ र लुक्स शानदार हुन्छ । फिनिसिङ्मा धेरै ध्यान दिइने भएको हुँदा यसलाई रिमोडेल गर्न र रिडिजाइन गर्न पनि सजिलो हुन्छ । यसलाई मुख्य रुपमा स्टील स्ट्रक्चर प्रविधिमा बनाइन्छ ।


बक्स स्टाइल घरका फिचरहरु

  • बक्सहरु खप्टाएर राखेजस्तो देखिने
  • स्वायर र रेक्ट्याङ्गुलर शेपमा निर्माण गरिने
  • तीखा र बोल्ड लुक्स भएका कुनाहरु
  • राम्ररी पहिचान गर्न सकिने एङ्गुलर सेपहरु
  • घाम र पानीबाट झ्यालढोकालाई बचाउन गाह्रो हुने

 

स्लोप डिजाइनको घर


स्लोप डिजाइनको घर बक्स डिजाइनको घरसङ्ग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ । तर यसमा फरक हुने भनेको यसका पिलरहरु र फाउण्डेशनहरु जमिनको स्लोप अनुसार विभिन्न फरक तहमा निर्माण हुन्छन् । स्लोप डिजाइन घरका विशेषताहरु तल दिइएका छन्

  • पहाडी क्षेत्रमा निर्माण गर्न उपयुक्त
  • कम ठाउँमा धेरै डिजाइन निकाल्न सकिने
  • हेर्नमा अन्य डिजाइनका घरहरुभन्दा आकर्षक
  • जग्गाको स्पेश म्यानेजमेन्ट राम्रोसङ्ग गर्न सकिने

स्टील स्ट्रक्चरको घर

स्टील स्ट्रक्चरको घर व्यापारिक कम्प्लेक्स र हाइराइज घरहरुका लागि सबैभन्दा उपयुक्त र आधुनिक प्रविधि हो । व्यापारिक घरहरु छिटो निर्माण गर्न पाए त्यसबाट धेरै आम्दानी गर्न सकिने हुन्छ । यस्तोमा एकदम चाँडै निर्माण सम्पन्न गर्नको लागि स्टील स्ट्रक्चरको घरलाई प्राथमिकता दिइन्छ । अनि हाइराइज बिल्डिङमा पनि स्टील स्ट्रक्चरको प्रयोग गरिन्छ किनभने हाइराइज घरहरुमा आरसिसीको पिलरको मोटाइ बढ्दै जान्छ र यसले गर्दा खर्च धेरै पर्न जान्छ । त्यसका साथै भूकम्पीय प्रविधिका लागि पनि स्टील स्ट्रक्चरको प्रयोग बढी इफेक्टिभ मानिन्छ ।


स्टील स्ट्रक्चरका विशेषताहरु

  • एक ठाउँबाट अर्कोठाउँ घरको स्ट्रक्चरलाई सार्न सकिने
  • निर्माण गर्दा ढलान सुक्नका लागि पर्खिनु नपर्ने
  • भूकम्पका बेलामा लच्किने क्षमता धेरै भएको
  • फिनिसिङमा भने अलि धेरै रकम खर्चिनुपर्ने
  • व्यापारिक भवनका लागि सबैभन्दा उपयुक्त

नियोक्लासिकल डिजाइनको घर


नियोक्लासिकल डिजाइनको घर हाल नेपालमा चलिरहेको सबैभन्दा पपुलर घर हो । नियोक्लासिकल घरको सुरुवात युरोपमा भएको हो र राणाकालमा यो डिजाइन नेपाल भित्रिएको हो । राणाकालीन नियोक्लासिकल घरहरु गारोले लोड थाम्ने गरी बनेको हो तर हाल यो डिजाइन आरसीसी प्रविधिमा प्रचलनमा आएको छ । नियोक्लासिकल घरका केही फिचरहरु तल दिइएका छन्

  • राजमहल जस्तो लुक्स देखिने
  • उत्कृष्ट डिजाइन र फिनिसिङ
  • बक्स माथि बुट्टाहरुले कभर गरी आकर्षक देखाइने

 

एस वाइ प्यानलको घर

एस वाइ प्यानलका घरहरु पनि स्टीलका फ्रेमवर्क प्रयोग गरेर नै बन्ने घरहरु हुन् । यसमा लाग्ने वाल प्यानल जस्ता सामग्रीहरु एस वाइ प्यानल नामक कम्पनीले नै उत्पादन गरेर बजारीकरण गर्ने गरेको छ ।


एस वाइ प्यानलका घरको विशेषता

  • आकर्षक फिनिसिङ
  • घरको स्ट्रक्चरमा भार कम पर्ने
  • साउण्डप्रुफ र आगोबाट प्रतिरोधात्मक क्षमता निश्चित घण्टाका लागि

प्रिफ्याबका घरहरु

प्रिफ्याबका घरहरु पनि एस वाइ प्यानल जस्तै टेक्नोलोजीमा आधारित हो । प्रिफ्याब भनेको वाल लगाउने प्रविधि हो । प्रिफ्याबको निर्माण सिमेन्ट जिप्सम र फाइबरको मिश्रणबाट हुन्छ । यो हलुका हुन्छ र घरमा भार कम मात्र पर्ने गर्छ । विशेष गरी अस्थायी निर्माणका लागि वा कम महत्वपूर्ण निर्माणका लागि यसको प्रयोग हुन्छ । 

प्रिफ्याब घरका विशेषताहरू

  • कम तौल भएको
  • घाम पानीबाट जोगाउन सक्ने
  • १५ देखि २० वर्षको आयु भएको
  • बेलाबेला क्रयाक आउने र मर्मत गर्नुपर्ने

मेसनरी घर


घरमा मोटो भित्ता हुने र भित्ताले नै घरको लोड थाम्ने प्रविधिलाई मेसनरी घर भनिन्छ । सिन्धु सभ्यताऽ ग्रिक सभ्यता आदि अधिकांश सभ्यतामा बनेका सबैजसो घरहरु यही प्रविधिमा आधारित छन् । नेपालमा पनि राणाकालीन दरबार शाहकालीन दरबार मध्यकालीन दरबारहरु हाम्रा गाउँघरका पाली र बार्दली भएका घरहरु सबै घरहरुमा गारोले नै घरको भार थाम्छन् ।

  • मेसनरी घरको विशेषता
  • घाम पानी र तापक्रमबाट राम्रो सुरक्षा
  • जाडोमा न्यानो र गर्मीमा शितल हुने
  • नेपाली परम्पराको जगेर्ना हुने
  • भूकम्प प्रतिरोधी बनाउन सकिने
  • बेला बेलामा मर्मत र लिपपोत गरिरहनु पर्ने 

 

 

clock-icon 3 weeks ago
Contact Us