खेर गइरहेको छतलाई के काममा प्रयोगमा ल्याउन सकिन्छ
खेर गइरहेको छतलाई कसरी कुन काममा प्रयोगमा ल्याउन
सकिन्छ भन्ने कुरा हामी छोटोमा छलफल गर्न चाहन्छौँ ।
गार्डेन बनाउने
खेर गइरहेको छतलाई गार्डेन बनाएर प्रयोग गर्न
सकिन्छ । छतमा भएको हरियो गार्डेनले शान्त र सौम्य वातावरण बनाउन सघाउँछ । छतमा
घाँस धेरै भएको गार्डेन भयो भने फोहोर हुन्छ तर जापानीज स्टाइलको गार्डेनमा माटोको
फोहर पनि कम हुन्छ । जापानीज गार्डेनमा रङ्गी बिरङ्गी साना ढुङ्गाहरुको प्रयोग
हुन्छ । जापानीज गार्डेनलाई नेपाली टच दिनको लागि त्यसमा गमलाहरू राख्न पनि सकिन्छ
। सानो फाउण्टेन पनि राखियो भने यो छतको गार्डेन धेरै नै आकर्षक देखिन्छ ।
छतलाई कोठाको रुपमा प्रयोग गर्ने
छतलाई कोठाको रुपमा प्रयोग पनि गर्न सकिन्छ ।
उदाहरणको लागि छतमा प्रिफ्याबको प्यानलहरू जडान गरी एउटा कोठाको रुपमा निकाल्न
सकिन्छ । यसरी कोठा बनाउँदा त्यसमा स्टील पाइप वा च्यानल वा आइ सेक्सनको पिलर
दिइन्छ र त्यसैगरी बिम पनि दिइन्छ । प्लेन सिलिङ देखाउनको लागि फल्स सिलिङको
प्रयोग गरिन्छ । छतको छाना चाहिँ यू पी भी सी को राख्न् उपयुक्त हुन्छ किनभने यो
धेरै टिकाउ पनि छ र अन्य छानाको तुलना रङ उप्कनेऽ खुइलिने आदि हुँदैन ।
पार्टिसनको लागि प्रिफ्याब बाहेक अन्य सामान पनि
छन् । उदाहरणको लागि एस वाइ प्यानल सिमेन्ट बोर्ड आदि पनि छन् । प्रिफ्याब भन्दा
बढी घाम पानी सहन सक्ने चाहिँ सिमेन्ट बोर्ड हो तर सिमेन्ट बोर्डमा पनि
प्रिफ्याबमा जस्तो क्रयाक देखा पर्ने कुरा भइ नै रहेको हुन्छ । यद्यपि सिमेन्ट
बोर्ड प्रिफ्याब भन्दा बलियो मानिन्छ ।
छाना सहितको खुला स्पेशमा परिणत गर्ने
कोठाको रुपमा ननिकाले पनि खेर गइरहेको छतलाई एउटा
छाना सहितको खुला स्पेशको रुपमा प्रयोग गर्न सकिन्छ । यसको फाइदा भनेको तपाईँले
खुला स्पेश चाहिँ पाउने तर वर्षा मौसममा चाहिँ पानीको चिन्ता गर्नु नपर्ने नै हो ।
त्यसको लागि खुला आकाशलाई ढाक्ने थुप्रै तरिकाहरू छन् ।
पहिलो तरिका भनेको टफन्ड ग्लास नै हो । टफन्ड
ग्लास विभिन्न मोटाइमा पाइन्छ । टफण्ड ग्लासले गर्ने छाना छाउने काम लामो समयसम्म
टिक्ने सिसा बलियो भएर नफुट्ने र फिनिसिङ क्वालिटी राम्रो देखाउने हुनाले धेरैले
टफन्ड ग्लास रोज्ने गर्नुभएको छ ।
अर्को छाना छाउने तरिका चाहिँ फाइबर ग्लास हो । कम
क्वालिटीको फाइबर ग्लास टफण्ड ग्लास भन्दा सस्तो र किफायती हुन्छ तर टफण्ड ग्लास
जति लामो समय टिकाउ नहुन सक्छ । तर राम्रो क्वालिटी फाइबर ग्लास हाल्नुभयो भने
फाइबर ग्लासलाई टफन्ड ग्लाससङ्ग तुलना गर्न सकिन्छ ।
अर्को छाना छाउने मेटेरियल भनेको यू पी भी सी नै
हो । यू पी भी सीको मटेरियल बलियो र टिकाउ हुन्छ । यसले तापलाई तल ट्रान्सफर गर्दैन जसको कारणले
तल बस्ने मानिसलाई गर्मीको महसूस हुँदैन । यूपीभिसीमा कुनै हानीकारक केमिकल बन्दैन
जसको कारण यदि तपाईँलाई वर्षाको पानी सङ्कलन गरेर प्रशोधन गर्न मन लागेको छ भने
पनि सहजै गर्न सक्नुहुन्छ ।
सोलार रुम बनाउने
यदि तपाईँको घर हिमाली क्षेत्रमा छ भने सोलार
रुम तपाईँलाई एउटा उत्तम विकल्प बन्न सक्छ । छतमा भएको सोलार रुममा बसेर तपाईँले
घाम ताप्न सक्नुहुन्छ । सोलार रुममा तपाईँले सबै तिर सिसाले बारेर प्रयोग
गर्नुहुन्छ । कम मोटाइको टफन्ड ग्लास यसको लागि सबैभन्दा उपयुक्त विकल्प हो । टफन्ड
ग्लासले सिसा भित्र घामको किरण छिर्न दिन्छ तर हावा छिर्न दिँदैन । हिमाली
क्षेत्रमा जाडोको समयमा यदि तपाईँले हावा रहित भएर घाम ताप्न पाउनुभयो भने छतको त्यो
भन्दा राम्रो प्रयोग अर्को कुनै हुन सक्दैन ।
छतमा ओपन बार बनाउने
बार भनेको विदेशी तथा स्वदेशी मदिरापान गर्ने
ठाउँ हो । छतमा बारको डिजाइन एउटा यूरोपियन कन्सेप्ट हो । आजभोलि यो कन्सेप्ट
नेपालमा पनि भित्रिरहेको छ । तपाईँले छतमा सानो ठाउँमा बारेर त्यसमा मदिरा राख्ने
ठाउँ अनि बाँकी स्पेशलाई ओपन गरेर राम्रो डिजाइनको सोफा टेबल अथवा टेबल कुर्सी पनि
राख्न सक्नुहुन्छ ।