Blogs/Current Article

इँटा, बालुवा र पानीको गुणस्तर जाँच कसरी गर्ने ?

5 min read
brick-test

घर बनाउँदा सबै निर्माण समाग्रीको राम्ररी जाँच गरेर गुणस्तरीय छ वा छैन बुझ्नुपर्छ। इँटा, बालुवा र पानीको महत्व निर्माणको अन्तिम चरणसम्म रहन्छ। हामीले यहाँ निर्माणमा प्रयोग हुने यी ३ सामग्रीको शुद्धता र परिक्षण सम्बन्धी चर्चा गरेका छौं।

इँटाको गुणस्तर जाँच

घर निर्माणमा इँटा सबैभन्दा पुरानो र भरपर्दो निर्माण समाग्री हो। निर्माणमा गुणस्तरीय इँटा भएन भने भवनको भार वहन क्षमतामा कमी आउँछ र निर्माण कमजोर हुन्छ। साथै घर बनाइसकेपछि आउने समस्याले घरको रुपलाई पनि विगार्छ।

केहीहदसम्म बाहिरी रुप हेरेरै पनि गुणस्तरीय इँटाको पहिचान गर्न सकिन्छ। चिल्लो सतह भएको, राम्ररी पाकेको र गाढा रातो रंगको इँटा निर्माणका लागि गुणस्तरीय मानिन्छ।

नपाकेको, ज्यादा पाकेर कालो भएको, आकार नमिलेको, फुटेको वा चर्किएको इँटा प्रयोग गर्न मिल्दैन।

राम्ररी पाकेका दुई इँटा ठोक्याउँदा फलाम ठोकेको जसतो आवाज आउने हुनुपर्छ। त्यस्तै १ मिटर उचाइबाट कडा सतहमा खसाल्दा फुटेन भने त्यसलाई गुणस्तरीय इँटा मान्नुपर्छ। 

यसरी जाँच गरिसकेपछि राम्ररी पानीमा भिजाएर इँटालाई प्रयोग गर्न सकिन्छ।


बालुवाको गुणस्तर जाँच

बलियो संरचना निर्माणमा बालुवाको भूमिका महत्वपूर्ण छ। राम्रो गुणस्तरको प्रयोगले मात्र बलियो र सुन्दर निर्माण सम्भव छ। घर निर्माणमा सबैभन्दा धेरै खपत हुन्छ, बालुवा। त्यसैले यो सफा र मिसावट रहित हुनु आवश्यक छ।

हातले छाम्दा खस्रो बालुवा निर्माणमा उपयुक्त हुन्छ। त्यस्तै बालुवामा टल्कने माइका न्यून भएको, माटो नमिसिएको साथै अन्य कुनै फोहोर नभएको बालुवा आवश्यक हुन्छ। बालुवामा माटोको गुणस्तर ५ प्रतिशत भन्दा बढी भएमा त्यो वालुवा निर्माणका लागि राम्रो मानिदैन।

बालुवाको गुणस्तर हामी आफैंले पनि यसरी जाँच गर्न सक्छौं।

एउटा सिसाको गिलासमा आधासम्म आउने गरि बालुवा हाल्ने। बालुवाको सतहमा २५ मिलिमिटर पानी राख्ने। साही गिलासमा १ चम्चा नुन हाली राम्रोसँग चलाउने र गिलासलाई ३ घण्टासम्म त्यतिकै राख्ने। लगभग ३ घण्टा पछि गिलासमा थिग्रीएर रहेको बालुवामा माटोको लेभल देख्न सकिन्छ। यसरी माटोको भाग ५ प्रतिशत वा त्यसभन्दा कम भए बालुवा गुणस्तरीय र निर्माणका लागि उपयुक्त छ।

यति बालुवामा माटोको मात्रा बढि पाइएमा सफा पानिले पाखाली माटो वा अन्य फोहोर कम भएको निश्चित गरि निर्माणमा प्रयोग गर्नुपर्छ।

ठूला निर्माणहरुमा बालुवाको प्रयोग गर्दा प्रयोगशालामा परिक्षण गरेर मात्र प्रयोग गर्नुपर्दछ।


पानीको गुणस्तर जाँच

जुनसुकै निर्माण कार्यमा पनि सुरुवात देखि अन्तिमसम्म पानी अत्यावश्यक हुन्छ। कंक्रिट मिक्स बनाउन होस् वा ढालान भिजाउन, प्लास्टर मसला बनाउन या फेरि सिमेन्ट घोल बनाउन पानी अपरिहार्य छ ।

पानीको मात्रा अलिकति मात्र घटी वा बढी हुनुले निर्माण वा निर्माण सामग्रीमा धेरै फरक पार्छ। 

पानीको मात्रा धेरै भएमा कंक्रिटको भार बहन क्षमतामा कमी आउँछ भने पानीको मात्र कम भएमा पनि कंक्रिटले काम गर्न नसक्ने हुन्छ। त्यस्तै कामदारले राम्ररी काम फिनिसिङ गर्न नसकिने हुन्छ।

यदी पानी सफा र शुद्ध छैन, फोहोर, ढल वा कुनै रसायन मिसिएको छ भने सिमेन्ट सेट नहुने, छिटो निर्माण चर्किने हुन्छ। समग्र निर्माणको आयु नै कम हुन पुग्छ।

पानीमा भएको अशुद्धताले कंक्रिट सेटिङ्समा र मजबुतीमा विशेषगरी निर्माणको भार वहन क्षमतामा असर पार्छ।

त्यसैले निर्माणका बेला सफा शुद्ध वा पिउनयोग्य पानी प्रयोग गर्नुपर्छ। बोरिङगरी निकालियको पानीलाई फिल्टर गरी निर्माणमा प्रयोग गर्न सकिन्छ।

त्यस्तै निर्माणमा प्रयोग हुने पानी सफा र मिसावट रहित भएको निश्चित गर्न प्रयोगशालामा परिक्षण गराउन सकिन्छ ।

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)