नयाँ घर बनाउनु भन्दा पहिले कुन–कुन कुरामा ध्यान दिने ?

घर भौतिक संरचना भएपनि घरसँग हाम्रो आत्मीय नाता हुन्छ । आफनो परिवारसगँ सुरक्षित भएर बस्ने, एक आपसमा परस्पर सहकार्य, बालबालिकाको पहिलो पाठशाला घर हो । दिनभरी जहाँ भएपनि साँझ मेरो घर भन्दै हामी घरसम्म डोरिन्छौ । हो यही हो घरसँगको अदृष्य नाता र सम्बन्ध । नयाँ घर निर्माण गर्नु आफैमा जटिल र संवेदनशील हुन्छ । संवेदनशील किन पनि भने हामीले घर निर्माणको क्रममा गर्ने एउटा सानो त्रुटिले पनि घर बस्नको लागि असुरक्षित हुन सक्दछ ।
यहाँ हामी घर निर्माण गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने सामान्य जानकारी दिनेछौ ।
भूकम्प प्रतिरोधी घर भनेको त्यस्तो घर हो जसमा भुइँचालो आउँदा पनि जनधनको सुरक्षा सुनिश्चित हुन्छ । सानोतिनो भुइँचालोमा खासै केही पनि नहुने; मध्यम खालको भुइँचालोमा हल्का क्षति हुने र ठूलो भुइँचालोमा चर्कने, लच्कने तर गल्र्याम गुर्लुम नलड्ने घर नै भूकम्प प्रतिरोधी घर हो ।
साधारणतया ठूला भुइँचालोहरुमा भूकम्प प्रतिरोधात्मक क्षमता नभएका घरहरु भत्कन्छन् जसले गर्दा धेरै जनधनको क्षति हुन जान्छ । तर विचार पु¥याएर बनाएको खण्डमा भुइँचालोबाट घरहरुमा हुने क्षतिलाई रोक्न वा कम गर्न सकिन्छ ।

भवन निर्माण संहिता मानवीय सुरक्षा तथा सामाजिक हित सुनिश्चित गर्ने प्रयोजनको लागि भवनको डिजाइन, निर्माण पद्धति, निर्माण सामग्री तथा उपयोग जस्ता भवनका विभिन्न पक्षहरुलाई नियमन गरी भवनको संरचनात्मक सुरक्षा र क्षति प्रतिरोधात्मक क्षमता सुनिश्चित गर्न वि.सं. २०५२ मा बनाइएको नेपाल सरकारको आधिकारिक अभिलेख हो ।
विगतको भूकम्पबाट भएको क्षतिको प्रकृति अध्ययन गर्दा भवन निर्माण संहिता अनुशरण नगरी बनाएका घरहरुमा बढी क्षति भएको देखिन्छ । त्यसकारण यस भवन निर्माण संहिता विभिन्न प्रकोपबाट हुने क्षतिलाई कम गर्नका लागि धेरै महत्वपूर्ण रहेकोछ ।
भवन ऐन २०५५, संशोधित २०६४ अनुसार, भवन निर्माण संहिताको तर्जुमा तथा कार्यान्वयन गर्ने प्रयोजनको लागि भवनलाई देहाय अनुसार चार वर्गमा वर्गीकरण गरिएको छ
“क” वर्ग - विकसित मुलुकमा अपनाइएका भवन निर्माण संहिता समेतको अनुसरण गरी इण्टरनेशनल स्टेट अफ आर्ट अनुसार विदेशी विकसित निर्माण शैलीमा आधारित हुने गरी बनाइने अत्याधुनिक भवनहरू ।
“ख” वर्ग - भुईंतलाको क्षेत्रफल एक हजार वर्गफिट भन्दा वढी भएका, तीन तला भन्दा बढी भएका, घरको संरचनात्मक भाग (पिलर, गारो) बीचको दूरी ४.५ मीटर भन्दा बढी भएका भवनहरू ।
“ग” वर्ग - भुईंतलाको क्षेत्रफल एक हजार वर्गफिट भन्दा कम भएका, तीन तला भन्दा कम भएका, घरको संरचनात्मक भाग (पिलर, गारो) बीचको दूरी ४.५ मीटर भन्दा कम भएका भवनहरू ।
“घ” वर्ग - काँचो वा पाको ईट्टा, ढुङ्गा, माटो, बाँस, खर आदि प्रयोग गरीबनाइने एकतला घर तथा टहराहरु ,

भवन निर्माणको मापदण्ड नेपालमा रहेको सबै सहरी क्षेत्रको योजनाबद्घ विकासलाई निर्देशित गर्ने उद्देश्य राखी तयार गरिएको हुन्छ । भवन मापदण्डको मुख्य उद्देश्य स्वच्छ, हराभरा, स्वस्थ तथा दिगो सहरी वातावरण सुनिश्चित गर्नु हो ।
यस्तो मापदण्डमा सहरका बाटोको चौडाइ, घर बनाउदा बाटो देखि छोड्नु पर्ने दुरी (सेटब्याक), जग्गाको क्षेत्रफल अनुसार घर बनाउन पाइने क्षेत्रफल, तला संख्या, भवनको उचाई, विकासका लागि प्रस्तावित गरिएका क्षेत्रहरु इत्यादि हुन्छन् ।
बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ अनुसार आवासीय भवनको लागि निम्न मापदण्ड तोकेको छ ः
मापदण्ड विपरीत निर्माण भएका भवनलाई सम्बन्धित स्थानीय निकायले पूर्ण वा आंशिक रुपमा भत्काउन लगाउन सक्नेछ ।