घर कत्रो बनाउने how big house do I need
  • 352

घर कत्रो बनाउने


घर बनाउनुअघि हामीले योजना बनाउनुपर्ने एउटा महत्वपूर्ण विषय भनेको घर कत्रो बनाउने भन्ने हो । घरमा हाम्रो आवश्यकता विभिन्न थरी हुन्छन् । यी आवश्यकताहरु हाम्रा बानी व्यवहार गतिविधिहरुमा भर पर्छ । घरमा कति जना सदस्य हुनुहुन्छ, सदस्यहरु बालक बृद्ध कतिजना हुनुहुन्छ, दिदीबहिनी दाजुभाइ कतिजना हुनुहुन्छ, आफ्नो व्यक्तिगत इच्छा के छ यी कुराहरुले घरमा कति कोठा चाहिन्छ भन्ने कुरा निर्धारण हुन्छ ।

बेडरुमको सङ्ख्या निर्धारण

उदाहरणको लागि एउटा घरमा एक बालक छोरा र एक बालिका छोरी छन् भने उनीहरुलाई केही वर्षसम्म त एउटै कोठाले पर्याप्त हुन्छ । तर केही वर्षपछि ती दुवै जना वयस्क हुनेछन् र उनीहरु एउटै कोठामा बस्ने छैनन् । त्यस्तो समयका लागि अर्को एउटा कोठा पनि जरुरी हुन्छ । प्रायः श्रीमान श्रीमतीका लागि एउटा कोठा नै पर्याप्त हुन्छ ।


बहालमा लगाउने वा नलगाउने निर्णय

घर बहालमा लगाउने वा नलगाउने निर्णयले घर कत्रो बनाउने कुराको निर्धारण गरेको हुन्छ । बहालबाट हुने आम्दानी एउटै सहरभित्र पनि ठाउँ अनुसार फरक पर्छ तर घर बनाउने खर्च एउटा सहरभित्रको सबै ठाउँमा उस्तै पर्छ । घर बनाउँदा लाग्ने खर्चको बैङ्कमा राख्दा आउने व्याज रकम भन्दा बढी बहाल आउँछ भने मात्र बहालमा लगाउने गरी घर बनाउनु राम्रो मानिन्छ । अन्यथा तपाईँको बहालमा लगाउने घरको लगानी नै उठ्दैन र तपाईँले यसको अनावश्यक आर्थिक हानी नोक्सानी बेहोर्नु पर्छ । तर यदि तपाईँको एरियामा तीव्र विकास भइरहेको छ र २ ३ वर्षमै तपाईँको वरिपरी ठूला परियोजना बन्नेवाला छन् भने तपाईँले हाल बहालमा नजाने क्षेत्रमा पनि बहालमा जाने गरी निर्माण गर्न सक्नुहुन्छ ।

बाथरुम कतिवटा चाहिन्छ

बाथरुम कुन तल्लामा कतिवटा बनाउने भन्ने निर्णय तपाईँले आफ्नो घरका सदस्यहरुको आनीबानी हेरेर गर्नुपर्छ । उदाहरणका लागि कसैलाई वास्तुमा विश्वास लाग्छ र कसैलाई वास्तुमा विश्वास लाग्दैन । वास्तु शास्त्र अनुसार अट्याच बाथरुम र ट्वाइलेट बनाउनु राम्रो मानिँदैन । तर कसै कसैलाई एटेच ट्वाइलेट बाथरुम विना घर पूर्ण लाग्दैन र कोठै पिच्छे एटेच ट्वाइलेट बाथरुम बनाउन मन लाग्छ । यो कुरा डिजाइन मिटिङ भन्दा पहिला नै फाइनल हुनुपर्छ । बाथरुम मा अन्य कोठाको तुलनामा धेरै खर्च आउँछ । र यसरी आउने खर्चले पूरै घरको साइज र खर्च पनि बढाएको हुन्छ ।

किचन र डाइनिङ छुट्टै चाहिन्छ कि चाहिँदैन


सानो र चिटिक्क परेको परिवार छ भने प्राय डाइनिङ र किचनका लागि छुट्टाछुट्टै आवश्यकता पर्दैन । तर परिवार ठूलो छ भने किचन र डाइनिङको लागि छुट्टै स्पेश चाहिन्छ । त्यस्तै कुनै परिवारमा धेरै जमघट भइरहेको हुन्छ भने कुनै परिवार शान्त प्रकृतिको धेरै जमघट मन नपराउने सानो ठाउँमा र थोरै खुशीमा पनि रमाउने हुन्छ । तपाईँको परिवार यस्तै छ भने तपाईँलाई पनि एउटा कोठाभित्र राम्रोसङ्ग स्पेश म्यानेजमेन्ट गरिएको किचन र डाइनिङ पर्याप्त हुन्छ । तर यदि तपाईँको बजेट निकै राम्रो छ भने तपाईँले छुट्टाछुट्टै किचन र डाइनिङ बनाउनु नै बुद्धिमानी हुन्छ ।

घर बनाउने मापदण्डले के भन्छ

घर बनाउँदा सबै कुरा तपाईँले चाहेजस्तो पनि बन्दैन किनभने घर बनाउने सरकारी मापदण्डले के भन्छ भन्ने कुराले पनि तपाईँलाई धेरै असर पार्छ । तपाईँको जग्गा भएको नगरपालिकामा फलोर एरिया रेसियो कम भएमा तपाईँले चाहेर पनि ठूलो घर बनाउन सक्नुहुन्न । उदाहरणका लागि यदि तपाईँको नगरपालिकामा फ्लोर एरिया रेसियो १।७५ मात्र छ भने तपाईँले जग्गाको १।७५ गुणा भुइँको एरिया बराबर मात्र घर बनाउन पाउनुहुन्छ र प्राय नगरपालिकामा ८ आनासम्मको जग्गाको लागि ७० प्रतिशत ग्राउण्ड कभरेज गर्न पाइन्छ । यसको अर्थ तपाईँले आफ्नो जग्गाको ३० प्रतिशत ठाउँ अनिवार्य रुपमा खाली छोड्नुपर्छ । घर बनाउँदा ध्यान दिनुपर्ने अर्को मापदण्ड भनेको राइट अफ वे हो । यसको अर्थ के हो भने राइट अफ वे को जग्गा सरकारी जग्गा हो र हाल कायम बाटो भन्दा बढी तपाईँको जग्गा भित्र परेको सरकारको अधिकार रहेको जमिन तपाईँले मापदण्डका लागि छाड्नुपर्छ । यसमा तपाईँले कुनै पनि संरचना बनाउन पाउनुहुन्न । त्यस्तै झ्याल राख्नको लागि पनि तपाईँले हरेक साइडमा ५ फिट छाड्नुपर्छ र तपाईँले यसरी बनाएको घर १७ मिटर सम्म मात्र जान सकिन्छ । यसरी तपाईँको जग्गाको साइज अनिवार्य रुपमा घटेको हुन्छ र तपाईँले त्यस्तो जग्गामा सानो घर बनाउन मात्र पाउनुहुन्छ ।

एयर बि एन बि को कन्सेप्टमा बनाउने कि नबनाउने

आजभोलि नेपालका गाउँघरमा होम स्टेको चलन चलेजस्तै अन्तरराष्ट्रिय रुपमा एयर बि एन बि को कन्सेप्टको सुरुवात भएको छ । यस अन्तर्गत तपाईँले आफ्नो घरलाई विदेशी पाहुनाहरुको लागि लजको रुपमा प्रयोग गर्ने व्यवस्था गराउन सक्नुहुन्छ । यसरी घर बनाउँदा तपाईँलाई राम्रो आयआर्जनको श्रोत बन्न सक्छ । यसरी बनिसकेको घरले तपाईँलाई घरको ऋणको किस्ता तिर्न सहयोग हुन्छ । तपाईँको बसोबास र कार्यक्षेत्र नेपालमै छ भने त तपाईँलाई एयर बि एन बि को कन्सेप्ट खासै मन नपर्न सक्छ तर तपाईँ विदेशमा बस्नुहुन्छ र नेपालमा तपाईँको घर रेखदेख गर्ने मान्छे मात्रै हुनुहुन्छ भने तपाईँलाई नेपाल नफर्किँदा सम्मको लागि घरको राम्रो संरक्षण र नेपाल फर्केपछि आफ्नो बसोबासको लागि पर्याप्त स्पेशको व्यवस्था हुन सक्छ ।

तपाईँलाई घर भित्र मनोरञ्जनका लागि एक्स्ट्रा स्पेश चाहिन्छ कि चाहिँदैन


यदि तपाईँ घरलाई घरकै रुपमा मात्र हेर्नुहुन्छ भने ठीकै छ । तर यदि तपाईँ घरलाई कम्प्लिट संसारको रुपमा हेर्न चाहनुहुन्छ भने तपाईँले घरमा धेरै कुराहरु थप्न पनि सक्नुहुन्छ । उदाहरणको लागि साथीभाई सङ्ग सिनेमा हेर्नका लागि होम थिएटरको व्यवस्था तपाईँले गर्न सक्नुहुन्छ । त्यस्तै घरमा मिनीबार र इन्डोर स्पोर्टस् रुम पनि आजभोली धेरै आवश्यकता हुन थालेको छ । कसैकसैले स्पेश अभावको कारणले छतमा स्वीमिङ पुलको निर्माण पनि गराउन थाल्नुभएको छ । कुनै दृश्यावलोकन गर्दै छतको स्वीमिङ पुलमा रमाउनु पनि एउटा बहुत आनन्ददायक अनुभव हो । यस्ता लक्जरीहरुमा अलि अलि पैसा खर्च भए पनि यसले तपाईँको जिन्दगीलाई थप सुखमय बनाउन सक्छ । घर कत्रो बनाउने भन्ने कुरामा यी र यस्ता कुराले पनि फरक पार्दछन् ।

निष्कर्ष

तपाईँको घर कत्रो बनाउने भन्ने कुरा तपाईँको बेडरुम आवश्यकताऽ बाथरुम आवश्यकता र किचन र डाइनिङ सङ्गै तपाईँको कुनै विशेष सौखले पनि फरक पार्छ । यसको लागि तपाईँले आफ्नो सम्पूर्ण आवश्यकता र परिस्थिति आफ्नो डिजाइन इन्जिनियरलाई खुलस्त रुपमा बताउनुपर्छ । यसबाट तपाईँलाई घर कत्रो बनाउँदा तपाईँलाई सबैभन्दा उत्तम हुन्छ भन्ने कुराको ज्ञान हुन्छ र तपाईँले एउटा घर मात्र नभइ एउटा संसारै पाउनुहुन्छ । 

clock-icon 3 weeks ago
Contact Us